दफा ४०
अरुको घर जग्गा उपयोग वा प्राप्ति
(१) दूरसञ्चार सेवा विस्तार वा वितरणका लागि अरु कसैको घर जग्गा उपयोग वा प्राप्त गर्न आवश्यक परी अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित व्यक्तिसंग घरजग्गा प्राप्त वा उपयोग गर्न नसकेमा सोही व्यहोरा खुलाई त्यस्तो घर जग्गा प्राप्ति वा उपयोगको लागि प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि प्राधिकरणले आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा निवेदनमा उल्लिखित घर जग्गा प्राप्त गराई दिन आवश्यक र उपयुक्त देखेमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र नेपाल सरकार समक्ष सिफारिश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राधिकरणको सिफारिश प्राप्त भएपछि नेपाल सरकारले प्रचलित कानून बमोजिम संगठित संस्थालाई जग्गा उपलब्ध गराए सरह अनुमतिपत्र प्राप्त व्यक्तिलाई त्यस्तो घर जग्गा प्राप्त गराई दिन सक्नेछ । सरकारी जग्गा भएमा अनुमतिपत्रको अवधिका लागि पट्टा (लिज) मा उपलब्ध गराई दिन सक्नेछ ।